पूर्णपुष्टि, मंसिर ४ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेख्य वृद्धि भएको छ । साउन, भदौ र असोज महिनामा विप्रेषणमार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।

अमेरिकी डलरमा यो आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यो रकम २ अर्ब ७६ करोड डलर रहेको थियो । उल्लेखनीय रूपमा, २०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५।८ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने सामान्य गिरावट आएको छ । तीन महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख १० हजार ६ सय ५४ रहेको छ, जुन गत वर्षको तुलनामा करिब ३ हजारले कम हो । तर पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेर ५९ हजार ९ सय ३९ पुगेको छ, जुन गत वर्षको तुलनामा १० हजार बढी हो ।