सिरहा, १३ असार। सिरहाको गोलबजार नगरपालिका १० वडा कार्यालयले पाँचजना महिला स्वास्थ्य स्वंमसेविकालाई साईकल वितरण गरेको छ। गाउँस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्ने पाँच जना महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरेको हो।
वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वंमसेविकाहरुलाई पाँच थान साइकल प्रदान गरिएको वडा कार्यालयले जनाएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप लामाले स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै वडा कार्यालयले गरेको यस्ता सहयोगले महिला स्वास्थ्य स्वंमसेविकाहरुको हौसला बढ्ने बताए। उनले भने, ‘स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका निकै महत्वपूर्ण हुन्छ। वडाले देखाएको यो कार्यले अन्य वडाका लागि पनि प्रेरणा बन्न सक्ने उपसभापति लामाले जनाए।’
स्वास्थ्य स्वयंसेविकाहरूको दैनिक सेवालाई सहज बनाउने उद्देश्यले साइकल वितरण गरिएको वडा नम्वर १० का वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाले बताए। उनले भने, ‘स्वास्थ्य स्वयंसेविकाहरूले घरदैलोमै पुगेर सेवा दिनुपर्छ। उनीहरू पैदल हिडेर टाढाटाढासम्म पुगिरहेका हुन्छन्। अब साइकल भएपछि उनीहरूको काममा सहज हुने विश्वास व्यक्त गरे।’
साइकल पाएपछि स्वयंसेविकाहरूले खुशी व्यक्त गर्दै अब समुदायको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा पूर्व वडा अध्यक्ष देव नारायण महतो, स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला स्वास्थ्य स्वंमसेविका, आभारभुत स्वास्थ्य सेवा केन्द्रका कर्मचारीहरु, दलिय प्रतिनिधि र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

