सिरहा ३० भदौ । भदौ २३ र २४ गते देशव्यापी रूपमा गरिएको जेन्जी आन्दोलनको नाममा घुसपैठ गरि स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको निजी घरमा आगजनी र लुटपाट भएको छ।

जेन्जी आन्दोलनलाई वैचारिक समर्थन गरे पनि केही राजनीतिक दलका कार्यकर्ताले आन्दोलनको आडमा योजनाबद्ध रूपमा मेरो घरमा आगजनी तथा लुटपाट गरेको मन्त्री सिंहले आरोप लगाएका छन्।

सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको मन्त्री सिंहको घरमा आगजनीका कारण संरचनागत क्षति सहित घरभित्र रहेका लाखौं मूल्य बराबरका धनमाल समेत लुटिएको मन्त्री सिंहको आरोप छ।

मन्त्री सिंह आज मंगलवार आफैं घटनास्थलमा पुगेर जलेको घरको अनुगमन गरेका छन्। घर निरीक्षणपछि उनले भने, ´म जेन्जी आन्दोलनको समर्थनमा छु। तर शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी मेरो निजी घर जलाउने र लुट्ने कार्य राजनीतिक प्रतिशोध बाहेक अरु केही होइन।´

यता स्थानीयवासीहरूले पनि आन्दोलनकारीको नाममा बाहिरी समूहले अशान्ति मच्चाएको बताएका छन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार  ´आन्दोलनको नाममा घर जलाउने र लुट्ने कामले आन्दोलनलाई नै बदनाम बनाएको छ।´

घटनामा संलग्न व्यक्तिहरूको पहिचान र नियन्त्रणका लागि खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाइएको छ।