पूर्णपुष्टि, कार्तिक ३० । उदयपुरको रौतामाई गाउँपालिकामा बिहीबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रौतामाई गाउँपालिका वडा नं. १ डहरका ४० वर्षीय चक्रबहादुर तामाङ रहेका छन् ।
प्रहरीका अनुसार राति करिब ९ बजे लिम्चुङबुङबाट भुटारको डहरतर्फ जाँदै गरेको प्रदेश ०३–००१–त ८१९० नम्बरको ट्र्याक्टर गोगुन खोला नजिक अनियन्त्रित भई दुर्घटना हुँदा तामाङको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा १८ वर्षीया मनिषा तामाङ र २३ वर्षीय सुरेश तामाङ घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
स्थानीय चक्र कार्कीका अनुसार उनिहरु डहर बजारमा लाग्ने एक राते मेला हेर्न जाँदै थिए । रातको समयमा खराब सडकको कारण दुर्घटना भएको बताइएको छ । ट्र्याक्टर चालक अमृत तामाङ दुर्घटनापछि फरार रहेका छन् । फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ ।

