पूर्णपुष्टि, कार्तिक २१ ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । त्रियुगा नगरपालिका छैठ पूजा समितिका अध्यक्ष चन्दन शाहका अनुसार भोलिदेखि सुरु हुने पर्वको करिब ९० प्रतिशत काम तयारी सम्पन्न भइसकेको छ ।

नदी किनारमा जान मुख्य प्रवेशद्वार निर्माण, झिलिमिली बत्ती, र दुवै तर्फ घाट निर्माण भैसकेको शाहले जनाए । स्टेज र पुलको काम पनि सम्पन्न हुन लागेको छ । बिहिबार दिउँसो देखि संञ्चालन हुने छैठ पुजा भोली १२ बजे सम्म सबै कामको फिनिसिङ हुने जनाए । नदि वारपार गर्न सहजताका लागि दुईवटा बाँसको पुल निर्माण सम्पन्न भएको र एउटा पुल निर्माणाधीन रहेको छ । साथै व्रतालुहरूको बसाइका लागि नदि किनारमा बाँसको टहरा निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भक्तालुहरुलाई आजै घाट बाड्ने तयारी रहेको पनि समितिले जनाएको छ ।