सिरहा। छठ पर्व तथा कार्तिक पूर्णिमाको अवसरमा सिरहाको नरहा गाउँपालिका–३ मा Gen-Z समूहले शुभकामना, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिकहरू, युवाहरू र बालबालिकाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले गाउँका सार्वजनिक स्थलहरूमा विभिन्न प्रजातिका बिरुवाहरू रोप्दै वातावरण संरक्षण, सरसफाइ र सामुदायिक सद्भावको सन्देश दिएका थिए।

स्थानीय युवा नेता विजय कुमार यादवले पर्वका बेला गाउँघरका मानिसहरू एकै ठाउँमा भेला भई आपसी एकता र विकासका विषयमा छलफल गर्नु समाज समृद्धिको दिशामा जाने संकेत गरेको बताए। उनले भने, “हामी सबै मिलेर आफ्नो गाउँलाई सफा, हरियो र समृद्ध बनाउने अभियानमा जुट्नुपर्छ।”

Gen-Z समूहले आगामी दिनमा पनि यस्ता सामाजिक, सरसफाइ र वातावरणमैत्री गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।