उदयपुर, मङ्सिर ४ ।
नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले उदयपुरको बोक्सेस्थित पशुपतिप्रसाद गणले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको ८५ किलोमिटर महाभारत श्रृङ्खलाको पदमार्गमा पैदययात्राको आयोजना गर्ने भएको छ ।
आगामी पुस २१ देखि २८ गतेसम्म एतिहासिक स्थल उदयपुरगढीदेखि अर्को एतिहासिक स्थल चौदण्डीगढीसम्मको यात्रा गर्ने भएको हो । यात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्बसाधारणहरुको सहभागिता रहने गणपति शिवप्रसाद वाग्लेले जानकारी दिनुभयो । यसले पर्यटन प्रवर्धनसमेत हुनेछ ।
तयारी बैठक तथा अन्तरक्रिया कार्तिक ३० गते गरी यात्राको क्रममा बाटोमा पर्ने गाउँबस्ती र विद्यालयहरुमा भेटघाट गर्दै जाने जानकारी दिइएकाे छ । यात्रा पुरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको भ्रमण हुनेछ । कार्यक्रमका लागि पालिका अध्यक्षहरु, गणपती, होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष, जिल्ला साइकल संघका अध्यक्ष र नेपाल पत्रकार महासंघ उदयपुरको अध्यक्षसहितको समिति बनेको छ ।
साथै इतिहास संरक्षण तथा प्रवद्र्धन सम्बन्धी विषयबस्तुमा पालिकाहरुमा हाजिरीजवाफ, निवन्धलेखन, वक्तृत्वकला र कविता वाचन प्रतियोगिता सञ्चालन गरिनेछ ।
यात्राको पहिलोदिन उदयपुरगढीमा उद्घाटन गरी डुम्रेमा बास बस्ने, दोस्रो दिन सोही पालिकाको ढुङ्ग्रे (भिरगाउँ)मा बास बस्ने छ । तेस्रोदिन रौतामाईको पुवारे भञ्ज्याङमा एकरात बसेर चौथोदिन रौता पोखरीमा बस्नेछ । त्यसैगरी पाँचौदिन त्रियुगा नगरपालिकाको निपानेमा बास बस्ने छ र छैटौ दिन चौदण्डीगढीको सिम्लेमा र सातौदिन विरेन्द्रबजार हुदै चौदण्डीगढीमा पुगेर कार्यक्रम समापन गर्ने रहेको छ । यात्रा तालिका अनुसार दैनिक पाँचदेखि पन्ध्र किलोमिटरसम्म दुरी पार गरिने रहेको छ ।
समापन समारोहमा पालिकास्तरमा भएका साहित्यिक प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, यात्राको समितिक्षा तथा सहभागिलाई सम्मान, मायाको चिनो वितरण लगायतका कार्यक्रम गरिने जनाइएको छ ।