पूर्णपुष्टि, कार्तिक २५ ।  किरात धर्मका प्रवर्तक तथा नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४० औं जन्म जयन्ती विशेष कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । विशेषगरी कोशी प्रदेशका पाँचथर, इलाम र ताप्लेजुङलगायतका जिल्लाहरूमा उनको जन्म जयन्ती भव्यरूपमा मनाइने गरिएको छ ।

वि.सं. १९४२ मा इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्दले वि.सं. १९८८ मा पाँचथरको सिलौटीमा सत्य धर्म मुचुल्का घोषणा गरी समाज सुधारको अभियान थालेका थिए । उनले छोरीहरूलाई समान शिक्षा र सम्पत्तिको हक, दाइजो प्रथाको अन्त्य र महिला सशक्तिकरणका लागि आवाज उठाएका थिए ।

२२ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएका फाल्गुनन्दले १३ वर्षको सैन्य सेवापछि समाज सुधारको कार्यमा समर्पित भए । धूमपान, मद्यपान, विलासिता र अन्धविश्वासविरुद्ध जीवनभर लड्ने उनको २००५ साल चैत २२ गते निधन भएको थियो । नेपाल सरकारले २०६६ सालमा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको समाधिस्थल पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रहेको छ ।