पूर्णपुष्टि, कार्तिक २५ ।  भारतको बैंग्लोरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनको घरबाट १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गहना लुटपाट भएको छ । जैनले तीन दिनअघि बैंग्लोर प्रहरीमा दिएको उजुरीमा आफ्नो घरको लकरबाट सामान चोरिएको र यसमा नेपाली कर्मचारी नवराज र उनकी श्रीमती संलग्न रहेको दाबी गरेका छन् ।

बैंग्लोरको पत्रिका डेकन हेराल्डका अनुसार नवराजले ६ महिनाअघिदेखि स्टोरमा काम गर्दै आएका थिए । बस्ने ठाउँ नभएपछि उनी र उनकी श्रीमतीलाई जैनले घरको बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिएका थिए । जैन परिवार धार्मिक कार्यका लागि गुजरात गएको मौका पारी नवराज दम्पतीले अन्य दुई जनाको सहयोगमा चोरी गरेको आरोप छ । प्रहरीले आरोपित दम्पती नेपाल भागिसकेको आशंका गरेको छ । उनीहरूको खोजीका लागि भारतीय प्रहरीको एक टोली नेपाल आएको बताइएको छ ।