पूर्णपुष्टि, कार्तिक २५ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा बयान दिन आज काठमाडौं जाने भएका छन् । विराटनगरबाट दिउँसो १:५० बजेको उडानमार्फत उनी केन्द्रीय अपराध अनुसन्धान ब्युरो अन्तर्गतको मानव बेचबिखन ब्युरोमा स्वेच्छाले बयान दिन जान लागेका हुन् ।
अधिकारीमाथि गत कार्तिक १३ गते जापान जाने क्रममा तीन जना नेपालीलाई नक्कली कागजातसहित लगेको आरोप छ । यस घटनामा प्रहरीले खोटाङका दावा शेर्पा र जनक राई, रसुवाका कञ्चन देवकोटासहित नक्कली कागजात बनाउन सहयोग गर्ने धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर सुनुवार गरी ६ जनालाई पक्राउ गरिसकेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव केदारनाथ शर्मा तथा मन्त्रालयका कर्मचारीहरूले जापान नजान दिएको सुझावको अवज्ञा गरी अधिकारी जापान गएका थिए ।