सिरहा, १२ भदौ । आजकल कोही अनलाइन ठगीमा फस्छन्, कोही आफ्नै नजिकका साथीबाटै ब्ल्याकमेलको शिकार हुन्छन्।

त्यस्तै घटना हो सिरहाका निरञ्जन यादवको। उनी आफ्नै साथीले चेक चोरी गरेर ब्ल्याकमेल गरेपछि अहिले डिप्रेसनमा छन्।सिरहा नगरपालिका १५ सुक्चेना बुधौराका २७ वर्षीय निरञ्जन यादवलाई संगै बस्ने साथीले ब्ल्याकमेल गरेपछि उनी डिप्रेशनको सिकार भएका हुन्।

केही वर्षअघि जनकपुरस्थित एक क्याम्पसमा संगै इन्जिनियरिङ पढेका मिर्चैया नगरपालिका ११ का भोगेन्द्र यादव र निरञ्जन एकै कोठामा बस्ने साथी थिए।

उनीहरू परिवारकै सदस्यझै भएका थिए। पढाइ सकेपछि व्यवसाय गर्ने उद्देश्यले दुवैले सल्लाह गरेर कन्स्ट्रक्सन कम्पनी दर्ता गरे। कम्पनी निरञ्जनकै नाममा दर्ता भयो र दुवैको व्यवसायिक यात्रा सुरु भयो।

आर्थिक वर्ष २०७९/०८० मा धनुषाको हाँसपुर नगरपालिकामा करिब ७७ लाखको सडक कालोपत्रे ठेक्का पाए। लगानी धेरै लाग्ने र समय लाग्ने भएकाले निरञ्जनले भोगेन्द्रलाई हामी मिलेर काम गरौँ, नाफा बाँडौ, म कागजी काम गर्छु। तिमी साइड हेर्नू भन्दै मौखिक सम्झौता गरे।

पछि भोगेन्द्रले अर्को साथी पनि ल्याए मिर्चैया नगरपालिका १२ सिक्रोनका उपेन्द्र यादव। उनीहरूबीच मौखिक सम्झौताअनुसार थोरै लगानी गर्ने तर नाफा भए सबैले बाँड्ने सहमतिमा काम अघि बढ्यो। साइडको जिम्मा भोगेन्द्र र उपेन्द्रले लिए भने आर्थिक तथा कार्यालयको काम निरञ्जनले लिएको थियो।

धनुषाको काम सम्पन्न भयो तर गुणस्तरको कारण देखाउँदै पालिकाले भुक्तानी रोक्यो। सल्लाह गरेर घाटा लागे पनि काम सकेर भुक्तानी लिनुपर्ने सहमति भयो। निरञ्जनका अनुसार काम पूरा भयो र भुक्तानी पनि भयो। नाफा नभएपनी केही घाटा नै लाग्यो।

पालिकाबाट आएको रकम बैंकमै छोडेर निरञ्जन अर्को काम खोज्दै थिए। सप्तरीको हनुमान नगरपालिकामा पनि ठेक्का पाए। धनुषामा लागेको घाटा मेन्टेन गर्ने मनसायले काम सुरु भयो। धनुषाको रकम सुरक्षित भएकाले कामका लागि भोगेन्द्रको खातामा पैसा हाल्दै गए। तर सप्तरीको साइडमा पनि अनुभव नहुँदा घाटा भयो।

त्यसपछि भोगेन्द्रले केही  साप्ट्टी  रकम दिनु मलाइ जसरी पैसा चाहिन्छ; भन्दै माग गरे। निरञ्जनले सामानको फर्छ्यौट गरेर दिऊँला भने पनि। भोगेन्द्रले मानेनन् र विवाद सुरु भयो।

कामको क्रममा निरञ्जनले भोगेन्द्रलाई अरू पार्टीलाई सामान मँगाउन नाम र रकम खाली रहेको ७ वटा चेक दिएका थिए। तीमध्ये २ वटा भोगेन्द्रले पार्टीलाई दिए, बाँकी ५ वटा आफैसँग राखेको बुझियो। विवाद सुरु भएको केही दिनमै उपेन्द्रले ४५ लाख भरेर निरञ्जनकै चेक बाउन्स गराए। बैंकले जानकारी दिएपछि निरञ्जनले समाजका अगुवाहरू लगाएर छलफल गरे।

छलफलमा उनीहरूले लगानी नै नगरेको रकम ४५ लाख तिर्न दबाब दिए। निराजनले नलिएको रकम म कसरी तिर्नु, न्यायालय छ’।भन्दै इन्कार गरे। उपेन्द्रले चेक बाउन्स मुद्दा अदालत पुर्याए। उक्त मुद्दा  हालसम्म चल्दैछ।

एकवर्ष पछि भोगेन्द्रले पनि ३५ लाखको चेक बाउन्स गरायो। त्यसपछि धेरै छलफल भयो। छलफलमा चेक बाउन्स भएकोले निरञ्जनलाइ घाटा भए पनि केही रकम तिर्नुपर्ने सहमति भयो। निराजनले एकमुष्ट भोगेन्द्रको दाबी अनुसार १७ लाख तिर्ने उक्त रकम मध्येय ८ लाख पचास हजार भोगेन्द्र ले र ८ लाख पचास हजार उपेन्द्रले लिने र बाँकी रहेको चेक फिर्ता गर्ने तथा उपेन्द्रले दिएको मुद्दा समेत फिर्ता गर्ने सहमति भयो। तर केही दिनमै भोगेन्द्रले पुनः ब्ल्याकमेल गर्दै थप रकम देउ नभए अर्को चेक बाउन्स गराउँछु; भन्न थाले। भोगेन्द्रले ३५ लाखको चेक बाउन्स गराइसकेको निराजन बताउँछन् ।

साथीले नै यसरी धोका दिन्छन् भनेर सोचेको पनि थिइनँ। भोगेन्द्रले मलाई सिध्याउने प्रयास गरेका छन्। एक वर्षभन्दा बढी प्रहरी धाउँदा पनि सुनुवाइ भएन। प्रमाण हुँदाहुँदै पनि प्रहरी उनीहरूसँग मिलेर अन्याय गर्छ, निरञ्जन भन्छन्। न्याय नपाउँदा उनी आत्महत्या गर्न बाध्य भएको अवस्थामा पुगेको बताउँछन् ।

यता, सो बिषयमा भोगेन्द्रले भने, ´हामी संगै बस्ने साथी भएर पनि मौखिक रुपमा सम्झौता गरे । तर, निरञ्जनले धोका दियो। दुबै योजनाको काममा नाफा भएको छ। म साइडमा काम गराएको छु । मलाई थाहा छ। कति फाइदा भएको छ। निरञ्जनसंग रकम माग्दा उनले दिएनन् । मैले चेक बाउन्स गराइदिए।

निरञ्जनले छलफलमा भएको कुरा मान्दिए यति झन्झट नै हुने थिएन। म कानुनी रुपमा अगाडी छु। कानुनले मलाई पैसा दिलाउने छ।