पूर्णपुष्टि, कार्तिक ३० । साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेकी राष्ट्रिय महिला फुटबल खेलाडी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित भएकी छन् ।
त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुर निवासी कार्कीलाई शुक्रबार वडा कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा वडाध्यक्ष केदार थापाले कार्कीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे । साथै उनलाई नगद रु. १० हजार पनि प्रदान गरिएको छ।
सम्मानपत्रमा ‘ऐतिहासिक योगदानको कदर स्वरूप तपाईंलाई हार्दिक सम्मान गर्न पाउँदा हामी निकै गौरवान्वित भएका छौं । अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो पारेकोमा तपाईंलाई सम्मान गरिएको छ’ भनिएको छ । यसअघि बिहीबार त्रियुगा नगरपालिकाले पनि कार्कीलाई रु. ५० हजार नगद सहित सम्मान गर्दै नगर परिक्रमा गराएको थियो । वडाध्यक्ष थापाले कार्कीको प्रदर्शनले वडाबासी निकै खुशी भएको बताए । साथैँ, खेल जीवनमा थप प्रगतिको लागि शुभकामना व्यक्त गरे ।