सिरहा ७ भदौ । विद्यालय शिक्षा विधेयकको विरोध गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले सिरहामा विरोध प्रदर्शन गरेका छन्। दुबै संगठनका विद्यालयहरुले आफ्ना स्कुल सवारीसाधनसहित र्‍याली निकालेर विधेयकको आपत्ति जनाएका हुन्।

गोलबजार नगर प्याब्सन र एन प्याब्सनको संयुक्त अगुवाइमा निकालिएको र्‍याली चोहर्वा चौकबाट सुरु भई धनगढीमाई नगरपालिका–८ स्थित कसहा चौकसम्म परिक्रमा गरिएको थियो।

र्‍यालीमा करिब ७० वटा स्कुल बसमा कालो झण्डा झुण्ड्याइएको थियो। विधेयकमा निजी क्षेत्रको अधिकार सीमित गर्ने र सरकारले मनपरी हस्तक्षेप गर्ने जस्ता प्रावधान रहेको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।

प्रदर्शनकारीहरुले उक्त प्रावधान तत्काल संशोधन गर्न माग गरेका छन्। प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरूले विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान सच्याइएन भने आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन्।