प्रभु यादव /सिरहा, ६ माघ। सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनका लागि दुई जना पूर्व मन्त्रीसहित विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पुनः उम्मेदवारी दिएका छन्। त्यस्तै, पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विश्वनाथ साहले पनि सोही क्षेत्रबाट मनोनयन दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलका नेताहरू निर्वाचन कार्यालय, सिरहा नगरपालिकाको भवनमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता असेश्वर यादवले पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गराएका छन्।

सिरहा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. शम्भु यादव, जनमत पार्टीबाट रोहित महतो, नेपाली कांग्रेसबाट डा. शुभाष चन्द्र यादव तथा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूजन सिंह चुनावी मैदानमा उत्रिएका छन्।

दुई जना पूर्व मन्त्रीसहित प्रमुख तथा उदाउँदै गरेका दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपछि यस निर्वाचन क्षेत्रमा कडा टक्कर हुने अनुमान गरिएको छ।