सिरहा, ६ माघ । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वमन्त्रीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। विभिन्न राजनीतिक दलबाट पूर्वमन्त्रीहरूले उम्मेदवारी दर्ता गराएसँगै यो क्षेत्रको चुनावी माहोल तातेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। उनले निर्वाचन कार्यालय मिर्चैयास्थित रेडक्रस भवनमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
यसैगरी, सोही निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट पूर्वकानुन मन्त्री अजय शंकर नायक उम्मेदवार बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर तपेश्वर यादवले उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट पूर्वमन्त्री बिरेन्द्र महतो चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै, नेपाली काङ्ग्रेस बाट चन्द्रकाला देबि यादवले र बहुजन समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्रीले पनि मनोनयन दर्ता गराउने भएका छन्।
एकै निर्वाचन क्षेत्रमा चार जना पूर्वमन्त्रीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएपछि सिरहा–४ को निर्वाचनलाई चासोका साथ हेरिएको छ। दलहरूबीच कडा टक्कर हुने अनुमान गरिएको छ भने मतदाताहरूमा पनि उत्साह बढेको देखिन्छ।

