पूर्णपुष्टि, मंसिर ४ । स्थानीय तह उप-निर्वाचन अन्तर्गत आज उमेदवारहरूको नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज साँझ ५ बजेदेखि ६ बजेसम्म उमेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिने छ ।
निर्वाचन कार्यतालिका अनुसार मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ र दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।
स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । जसमा ३५ महिला, ४८ पुरुष र एक अन्य रहेका छन् । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाले उमेदवारी दिएका छन् । निर्वाचन आयोगले सबै तयारी पूरा गरेको र निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ ।