पूर्णपुष्टि, कार्तिक २० ।  सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्रै एक लाख २४ हजार तीन सय ९३ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो।

कोभिड-१९ पूर्वको तुलनामा पर्यटक आगमनमा ९२.९६ प्रतिशत पुनरुत्थान भएको बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबरको सुरुमा भएको अविरल वर्षाका कारण आशातित पर्यटक नआए पनि समग्र आगमन सन्तोषजनक रहेको छ ।

पछिल्ला महिनाहरूमा भारत र चीनबाट आउने पर्यटकको संख्यामा गिरावट आएको छ । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ र चीनबाट ७ हजार ७ सय ५० पर्यटक आएका छन् । तर अमेरिकी पर्यटकको संख्या भने १२.८८ प्रतिशतले बढेर १६ हजार २३ पुगेको छ । सन् २०२४ को पहिलो १० महिनामध्ये मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र जुलाईमा सबैभन्दा कम ६४ हजार पाँच सय ९९ पर्यटक नेपाल आएका छन् ।