सिरहा २६ भदौ । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहमाथि वडा कार्यालयबाट महत्वपूर्ण कागजात र जिन्सी सामग्री रातारात चोरी प्रयास गरेको आरोप लागेको छ।

रातिको करिव १० बजेको समयमा वडा अध्यक्ष संगै आएका समुहले कार्यालयको महत्त्वपूर्ण कागजात र दुई थान कम्प्युटर सेट आफनो घरतर्फ लैजाने क्रममा उनिहरुलाइ नियन्त्रणमा लिएका युवाहरुले प्रेस बिज्ञप्ती जारी गर्दै सो  आरोप लगाएको हो।

रातीको समयमा वडा अध्यक्ष सिंहसहित उनका निकटका मानिसहरू वडा कार्यालय खोली कार्यालयको महत्त्वपूर्ण कागजात, कम्प्युटर र  प्रिन्टर पोका बनाइ लगिरहेको अवस्थामा उनिहरुलाइ नियन्त्रणमा लिएको स्थानीय युवाहरु बताउँछन् ।

घटनाबारे जानकारी दिदै स्थानीय युवा पुनित यादवले भने, ´ वडा अध्यक्ष सिंहले ´जेनजी समूहले कार्यालयमा आगो लगाइदिन्छ´ भन्ने नाममा सामग्री हटाउन खोजेका थिए। राति १० बजेको समयमा कार्यालयको सामाग्री चोरी गर्न पुगेका उनिहरुलाइ युवाहरूले रोक्न खोज्दा वडा अध्यक्ष सिंहसहितको समूह भाग्ने प्रयास गरेको र तत्काल उनिहरुको दुई थान मोटरसाइकल र कार्यालयका समान नियन्त्रणमा लिएको पुनित यादवले बताए।

युवाहरूले सरकारी कार्यालयका सामग्री रातारात लैजाने काम चोरी र दुरुपयोगबाहेक अरू केही नभएको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीको समेत माग गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।

त्यसैगरी , नियन्त्रणमा लिएको दुइथान मोटरसाइकल सम्बन्धित निकायलाई जिम्मा लगाइने जनाइएको छ।

यता, यस विषयमा वडा अध्यक्ष सिंहसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।