पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा यहि मंसिर १६ गते उपनिर्वाचन हुदैँछ । आज दुबै वडामा अध्यक्ष पदको लागी १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको छ ।
त्रिनपा–१२ मा १ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिएका छन् भने बेनपा–९ मा ७ जनाको उम्मेदवारी परेको छ । त्रिनपा–१२ मा प्रमुख प्रतिष्पर्धी दलका रुपमा देखिएका नेकपा एमालेबाट लक्ष्मीनारागण चौधरी, नेपाली काङ्ग्रेसबाट संजिव काफ्ले र नेकपा माओवादी केन्द्रबाट नविनकुमार बान्तवा राईले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी अन्य दलहरुमा नेकपा एकिकृत समाजवादीबाट निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुबप्रसाद पोखरेल, नागरिक उन्मुक्ती पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, राप्रपाबाट लालबाबु साहको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा बजरङ्गवली कुमार दासको उम्मेदवारी परेको छ ।
त्यसैगरी बेलका –९ मा पनि प्रतिष्पर्धी दलको रुपमा देखिएका एमालेबाट मोहन खड्का, काङ्ग्रेसबाट नवराज बस्नेत, माओवादीबाट भरत घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट राजकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेजमान वि.क. राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टिकाप्रसाद फुयल र मंगोल नेशनल अर्गनाइजेशनबाट सुर्य तामाङको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसबाट जितेको दुबै वडाध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । चुडा काफ्ले जितेको त्रिनपा –१२ मा सोही पार्टीबाट उनकै छोरा संजिव उठेका हुन् भने पदमबहादुर खड्काले जितेको बेनपा–९ मा उनकै भाइ मोहन खड्का एमालेबाट उम्मेदवार उठेका छन् ।

