पूर्णपुष्टि, मंसिर ४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कीर्ते कागजात प्रयोग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी लाजिम्पाटस्थित कार्यालयमा ल्याइएको हो ।
सीआईबी प्रमुख दीपक थापाका अनुसार, प्रसाईंले सोमबार सार्वजनिक गरेका सबै कागजात कीर्ते रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात सार्वजनिक गरेका थिए ।
अनुसन्धानका क्रममा प्रसाईंले देखाएका कागजातमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर फर्जी पाइएको छ । साथै, नागरिकतामा उल्लेखित केपी शर्मा (ओली) को नाम र सार्वजनिक कागजातमा लेखिएको अंग्रेजी नाम फरक रहेको पाइएको छ।
प्रहरीले उनीमाथि कीर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अघि बढाउने तयारी गरेको छ । मंगलबार नै अदालतमा उपस्थित गराई हिरासतमा राख्न म्याद माग गरिने सीआईबीले जनाएको छ ।
यसअघि पनि विभिन्न विवादमा मुछिएका प्रसाईं गत असोजमा एक महिलाको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए । उनी माओवादी, एमाले हुँदै पछिल्लो समय राजावादी समूहसँग नजिक रहेका थिए । साम्प्रदायिक भड्काउ र हुलहुज्जतको शैलीमा देखा परिरहेका प्रसाईंलाई कानुनबमोजिम कारबाही गर्न ढिला भइरहेको भन्दै राज्यपक्षको आलोचना भइरहेको थियो ।