मुकेश कुमार यादव / सिरहा, २४ फागुन। कुनै समय कम्युनिस्ट दलहरूको बलियो प्रभाव मानिएको सिरहामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएको हो।
सिरहा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार बब्लु गुप्ता ४१ हजार ३ सय २२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरी ले ९ हजार ७८४ मत प्राप्त गरेका छन्। गुप्ताले चौधरीलाई ३१ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
त्यसैगरी सिरहा क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार शिवशंकर यादव ३९ हजार ५ सय ६१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादव ले १२ हजार ८ सय १४ मत प्राप्त गरेका छन्। शिवशंकरले प्रतिस्पर्धीलाई २६ हजार ७ सय ४७ मतान्तरले हराएका हुन्।
सिरहा क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार शम्भुकुमार यादव फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले ३२ हजार २ सय ४९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलानाथ श्रेष्ठ ले १० हजार १ सय ५६ मत प्राप्त गरेका छन्। शम्भुले २२ हजार ९३ मतान्तरले विजय हासिल गरेका हुन्। यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साह ९ हजार ९ सय ४२ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी सिरहा क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार तपेश्वर यादव ३६ हजार २ सय १० मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा उम्मेदवार अजयशंकर नायक ले ७ हजार ९ सय ७२ मत मात्र प्राप्त गरेका छन्।
विसं २०४९ सालमा जन्मिएका तपेश्वर यादव राजनीति अघि मिर्चैया नगरपालिकामा इन्जिनियर कर्मचारीको रूपमा कार्यरत थिए। उनले नेशनल इन्जिनियर एसोसिएसन नेपाल स्थापना गर्दै सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय भूमिका खेलेका थिए। सोही अनुभवका आधारमा उनले राजनीति यात्रा सुरु गरेका हुन्।
सिरहाका चारवटै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गर्दै फराकिलो जित हासिल गरेको छ।

