सिरहा ११ फागुन । फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सिरहा जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

जिल्ला प्रशासन कार्यालय सिरहा द्वारा जारी सूचनामा चुनावी प्रचारप्रसारका क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूले जुलुस, र्‍याली र आमसभामा डिजे साउण्ड सिस्टम प्रयोग गर्दा ध्वनि प्रदूषण बढेको, विद्यार्थीहरूको अध्ययनमा असर परेको, सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएको र शान्ति सुरक्षामा चुनौती उत्पन्न भएको उल्लेख गरिएको छ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले फागुन २१ गतेदेखि अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र कुनै पनि स्थानमा डिजे, साउण्ड सिस्टम, माइक तथा लाउड स्पिकर सञ्चालन नगर्न नगराउन आदेश दिएका छ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी आदेशको उल्लंघन भएमा सम्बन्धित उपकरण जफत गरिनेसहित प्रचलित कानून अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ। जिल्ला प्रशासनले निर्वाचन आचारसंहिता पालना गर्न तथा शान्तिपूर्ण वातावरण कायम राख्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई आग्रह गरेको छ।